फेरि उडान भर्न तयार छौँ


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २० २०८१
2.7K
SHARES

२० चैत काठमाडौं । अन्तरिक्षमा नौ महिनादेखि अड्केर भर्खरै पृथ्वीमा फर्केका नासाका दुई अन्तरिक्षयात्री बुच विलमोर र सुनिता विलियम्सले आफूहरू दुबैजना बोइङको स्टारलाइनरमा पुनः उडान गर्न तयार रहेको बताएका छन् । अन्तरिक्षबाट घर फर्केपछि सोमबार पहिलोपटक आयोजित प्रेस कन्फरेन्समा बोल्दै उनीहरूले उक्त कुरा बताएका हुन् ।अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा नौ महिना बिताएपछि विलमोर र विलियम्स स्पेसएक्सको अन्तरिक्ष यानमार्फत पृथ्वीमा आएका थिए ।

नौ महिनाअघि उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुर्‍याउने अन्तरिक्ष यान भने बोइङको स्टारलाइनर क्याप्सुल थियो जुन पछि उनीहरूलाई छाडेर पृथ्वीमै फर्किएको थियो । सोही यानमा प्राविधिक समस्या देखिएपछि उनीहरूको अन्तरिक्षको बसाइ लम्बिएको थियो ।“हामीले सामना गरेका सबै समस्या सच्याउनेछौँ । हामी तिनीहरूलाई ठिक गर्नेछौँ । हामी यसलाई काम गराउनेछौँ,” बुच विलमोरले भने, “म तत्काल फेरि बोइङको स्टारलाइनरमा उडान गर्ने तयारीमा छु ।”

पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले अन्तरिक्ष यात्राका क्रममा उत्पन्न भएको समस्याका निम्ति आफूहरू पनि आंशिक रूपमा जिम्मेवार रहेको बताएका छन् । “यो मिसनको हरेक तहमा संलग्न व्यक्तिहरू हामी सबै यसका लागि जिम्मेवार छौँ । यसको जिम्मा हामी सबैको छ,” पत्रकार सम्मेलमा बुच विलमोरले भने । पत्रकार सम्मलेनमा बोल्दै विलियम्सले स्टारलाइनरसँग धेरै सम्भावना रहेको भन्दै आफूले यसको सफलता चाहेको बताइन् ।

यसैबीच, दुवै अन्तरिक्षयात्रीले बुधबार बोइङ नेतृत्वसँग भेट्ने बताइएको छ । भेटका क्रममा उनीहरूले उडान र यसका समस्याबारे विवरण दिनेछन् ।“यो भेटघाट दोषारोपण गर्नका लागि होइन,” विलमोरले भने, “यो भविष्यको बाटो स्पष्ट बनाउनमात्र हो ।”