कर्णालीका सरकारी वेबसाइट अझै खुलेनन्
११ कार्तिक सुर्खेत । कर्णाली प्रदेशका सरकारी वेबसाइट अझै सञ्चालनमा आउन सकेका छैनन् । वेबसाइट नखुल्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयको दैनिक कामकाज प्रभावित भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी सुरेन्द्र शाहीले वेबसाइट नखुल्दा अनलाइनमार्फत दैनिक अद्यावधिक गर्नुपर्ने काममा समस्या आएको बताए । उनका अनुसार, अनलाइन प्रणालीमार्फत गर्नुपर्ने केही काम रोकिएका छन् ।
“हामीले दैनिक कार्यालयको काम गर्दा केही विवरण अनलाइनमार्फत अद्यावधिक गर्नुपर्ने हुन्छ । ती काम अहिलेसम्म भएका छैनन्,” शाहीले बाह्रखरीसँग भने, “तर यो कर्णालीको मात्र समस्या नभएर नेपालभरकै समस्या हो ।”
सरकारी वेबसाइटमा देखिएको समस्याबारे आफूहरूलाई विस्तृत जानकारी नभएको शाहीले बताए । वेबसाइटमा सुरक्षा जोखिम देखिएका कारण समस्या आएको हुनसक्ने उनको भनाइ छ ।
वेबसाइट निर्माण तथा सर्भरमा प्रयोग हुने प्रोग्रामिङ भाषा हाइपरटेक्स्ट प्रिप्रोसेसर (पीएचपी)मा सुरक्षा त्रुटि भेटिएपछि गत कात्तिक ४ गतेदेखि सरकारी वेबसाइटहरू बन्द गराइएको थियो । नेपालमा हजारौँ सरकारी वेबसाइट एउटै साझा टेम्प्लेटमा निर्माण गरिएकाले सुरक्षा जोखिम नियन्त्रण गर्न ती वेबसाइटलाई केन्द्रीय रूपमा अफलाइन गराइएको थियो ।
वेबसाइट लामो समयसम्म सञ्चालनमा नआउँदा सरकारी सूचना अद्यावधिक गर्ने तथा अनलाइन प्रणालीमा निर्भर दैनिक प्रशासनिक काम प्रभावित भएका छन् ।