चीन र अमेरिकाले एआई सुरक्षाका लागि सम्पर्क माध्यम स्थापना गर्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ११ २०८३
532
SHARES

११ असोज काठमाडौं । चीन र अमेरिकाले कृत्रिम बुद्धिमता (एआई) सुरक्षासम्बन्धी घटनाका लागि नयाँ सम्पर्क माध्यम स्थापना गर्नुका साथै दुवै देशका सेनाबीच संवाद विस्तार गर्ने सहमति गरेका छन् ।यो सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अमेरिकामा भएको तीनदिने शिखर वार्तामा भएको हो ।चिनियाँ पक्षले एआईसँग सम्बन्धित घटनाका लागि नयाँ ‘सम्पर्क माध्यम’ स्थापना गर्न लागिएको पनि पुष्टि गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले भनेको छ, “आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिहरू निरन्तर विकसित भइरहेका छन् । सबै पक्षले आदानप्रदानलाई सुदृढ पार्न, गहन छलफल गर्न र पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सहमति खोज्न सक्छन् ।”एआईमा केन्द्रित संवादको नयाँ चरण नोभेम्बरमा आयोजना हुने बताइएको छ । दुवै देशले सैन्य संकटकालीन सञ्चारसम्बन्धी कामलाई पनि तीव्रता दिने भएका छन् । यद्यपि, चीनले यसबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । शिखर वार्तामा करिब ३० अर्ब डलर बराबरका गैर–संवेदनशील वस्तुमा भन्सार शुल्क घटाउने प्रतिबद्धता पनि जनाएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै शिखर वार्तालाई दुवै राष्ट्रका लागि ‘मित्रता, शक्ति र सफलताको’ प्रतीक भएको बताएका छन् ।सीले भने दुवै पक्ष ‘सम्मान, निष्पक्षता र पारस्परिकताका आधारमा रणनीतिक स्थिरता कायम गर्न’ सहमत भएको बताएका छन् ।सी बेइजिङ फर्किएपछि शनिबार चीनले दुवै पक्ष करिब ३० अर्ब डलर बराबरका गैर–संवेदनशील वस्तुमा पारस्परिक रूपमा भन्सार शुल्क घटाउन सहमत भएको जनाएको छ । यो छुट कृषि उत्पादन तथा चाडपर्वका सजावटका सामग्रीलगायत वस्तुको निर्यातमा लागु हुने बताइएको छ ।

अमेरिका र चीनले गत अक्टोबरमा बुसानमा ट्रम्प र सीबीच भएको ‘व्यापार युद्धविराम’लाई लम्ब्याउन सहमति गरेको यसअघि नै घोषणा गरिसकेका छन् । उक्त सम्झौताअन्तर्गत चीनले दुर्लभ खनिजमा लगाएको केही निर्यात नियन्त्रण स्थगित गरेको र अमेरिकाले केही चिनियाँ वस्तुमा लगाएको भन्सार शुल्क घटाएको थियो । सम्झौता नोभेम्बर १० मा सकिँदै थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार यो सम्झौता जनवरीसम्म लागु रहनेछ ।

ह्वाइट हाउसका अनुसार, दुवै पक्षले ‘ढुवानीको स्तर उचित स्तरमा फर्किने सुनिश्चित गर्ने लक्ष्यका साथ’ दुर्लभ खनिज आपूर्तिसम्बन्धी अमेरिकी चिन्तालाई सम्बोधन गरेका छन् । ट्रम्प प्रशासनका अनुसार चीनले सन् २०२७ र २०२८ मा अमेरिकाबाट कम्तीमा १ करोड मेट्रिक टन कोइला आयात गर्न पनि सहमति जनाएको छ ।

ट्रम्पले अमेरिकामा भएको वार्ताका क्रममा इरान युद्ध पनि एजेन्डामा रहेको पुष्टि गरे पनि यस विषयमा कुनै ठूलो प्रगति नभएको बताएका छन् ।यद्यपि, चिनियाँ विदेश मन्त्रालयका अनुसार दुवै पक्ष इरानसँग आणविक हतियार हुनु नहुने र होर्मुज जलमार्गलाई संकेत गर्दै कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमा पारगमन शुल्क लगाउन नहुने विषयमा सहमत भएका छन् ।

ट्रम्प र सीले वर्षको अन्त्यसम्ममा थप दुईपटक भेट्ने कार्यक्रम रहेको बताइएको छ । ट्रम्प नोभेम्बरमा चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ भने सी डिसेम्बरमा अमेरिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन पुनः अमेरिका जाने अपेक्षा गरिएको छ । जी–२० शिखर सम्मेलन ट्रम्पको ‘नेसनल डोराल मियामी’ गल्फ क्लबमा आयोजना हुने बताइएको छ ।