फोनपेको चेकआउट बाइ फोनपे सार्वजनिक
२४ असार काठमाडौं । फोनपेले चेकआउट बाइ फोनपे नामक नयाँ अनलाइन भुक्तानी प्रणाली सार्वजनिक गरेको छ । मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकका लागि इ–कमर्स भुक्तानीलाई अझ छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्यले यो समाधान विकास गरिएको कम्पनीले जनाएको छ । ई–कमर्सको विस्तारसँगै ग्राहकहरूले भुक्तानी प्रक्रिया किनमेलमा सहज हुने अपेक्षा गर्न थालेका छन् । परम्परागत अनलाइन भुक्तानी प्रक्रियामा ग्राहकले एउटा एपबाट अर्को एपमा जानुपर्ने हुन्छ ।
पटक–पटक लगइन विवरण प्रविष्ट गर्नुपर्ने, ओटीपी प्रमाणीकरण तथा भुक्तानी पुष्टि हुन पर्खनुपर्ने र पुनः व्यापारीको प्लेटफर्ममा फर्केर खरिद प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।कम्पनीका अनुसार यी अतिरिक्त चरणरूले चेकआउट प्रक्रियामा अवरोध सिर्जना गर्दै ढिलाइ, बीचमै रोकिएका कारोबार तथा अधुरा खरिदहरू निम्त्याउने गरेका छन् ।
विश्वव्यापी रूपमा करिब ७० प्रतिशत अनलाइन किनमेलका कार्ट अन्तिम भुक्तानी नगरी नै छोडिने गरेका छन् । जसको प्रमुख कारणमध्ये लामो वा जटिल चेकआउट प्रक्रिया पनि एक हो ।भुक्तानी प्रक्रियालाई सरल बनाउन चेआउट बाइ फोनपेले इकमर्सका प्रमुख चुनौतीहरूमध्ये एकलाई समाधान गर्ने तथा व्यापारीहरूलाई रूपान्तरण दर र ग्राहक सन्तुष्टि बढाउन सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ ।
चेकआउट बाइ फोनपे मार्फत ग्राहकहरूले व्यापारीको चेकआउट प्रक्रियामै सहज रूपमा भुक्तानी गर्न सक्नेछन्, जसले अनावश्यक चरणहरू हटाई अनलाइन भुक्तानीलाई अझ छिटो र सुविधाजनक बनाउने कम्पनीले जनाएको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, “ई–कमर्सको विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुनुपर्छ । चेकआउट बाइ फोनपे अनलाइन भुक्तानीमा हुने झन्झट हटाउन तयार गरिएको हो ।”