सुमना श्रेष्ठले दिइन् राजीनामा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
2.7K
SHARES

४ वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएको रास्वपा सभापति लामिछाने निकट स्रोतले जानकारी दिएको छ ।

“उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो,” रास्वपाका एक नेताले भने, “पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो तर रवि दाइ हिरासतमा रहेकाले नदिएको भनेर उहाँले हामीसँगको कुराकानीमा भन्नुभएको छ ।” तर श्रेष्ठले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।

रास्वपाले केन्द्रीय समिति बैठक आजका लागि बोलाएको छ । लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । स्रोतले दिएको जानकारीअनुसार एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ ।

आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोत बताउँछ ।“पुस्तान्तरणका लागि गर्नुपर्ने कुरा के हो भन्ने कुनै पनि पार्टीमा देखिएन,” श्रेष्ठ निकट स्रोतले भन्यो, “पदमा जहिले पनि टाँसिएर बस्नुको औचित्य छैन । बोली र व्यवहारमा एकरुपता ल्याउनैपर्छ भनेर उहाँले राजीनामा दिनुभएको हो ।”