पाकिस्तानमा भीषण असिनापानी
४ वैशाख काठमाडौं । पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ । बुधबार (अप्रिल १६) परेको असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ ।
त्यसक्रममा सयौँ सवारीसाधन र घरका झ्यालका सिसा फुटे ।बीबीसी उर्दुका अनुसार, इस्लामाबादका स्थानीयले आफ्नो जीवनमा यति ठूला असिना कहिल्यै नदेखेको बताएका छन् ।
खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो । र, भारी वर्षाका कारण लन्डी कोतलमा बाढी आयो । त्यसक्रममा धेरै सवारीसाधन पानीमा बगेका थिए ।असिनापानीका कारण धेरै कारका सिसा फुटेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।