गभर्नर नियुक्तिमा स्वार्थ समूहको बिगबिगी छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
1.5K
SHARES

४ वैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् ।स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भी समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका हुन् ।

रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्न नियुक्तिको विषयमा दलहरुबीच नभइ बिचौलियाबीच कुरा नमिलेको दाबी गरे । त्यसै कारणले ढिला भएको उनको दाबी छ ।अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो’, उनले भने, ‘यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन । उनीहरुले कहिले कांग्रेसलाई कहिले एमालेलाई पक्डेका छन् । त्यसैले ढिलो भइराखेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार पनि बिचौलियाको स्वार्थ अनुसार नै काम गरिरहेको बताउँदै राम्रो काम गर्ने इमानदार कर्मचारीहरुलाई प्रताडित गर्ने, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेको बताए ।उनले यसरी अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महत्वपूर्ण संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न आग्रह गरे ।उनले कांग्रेस महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको कुरा भनिसकेको बताउँदै सरकार बिचौलियाले चलाउने कुरा पुष्टि भएको बताए ।उनले सरकारलाई अझै पनि बिचौलियकाको स्वार्थअनुसारका नियुक्ति गर्ने र इमानदार कर्मचारीलाई प्रताडित गर्ने काम नगर्न सुझाव दिए ।