राप्रपा आन्दोलनको रणनीति फेरियो


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
2.8K
SHARES

७ वैशाख काठमाडौं । राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरेको छ। यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी गरेको थियो। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। उनका अनुसार अब बालुवाटार र भद्रकालीबाट र्‍याली निस्कँदैन।

सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्नेछन् ।

र्‍याली बिजुलीबजारबाट बानेश्वरतिर आएर निषेधित क्षेत्र तोड्ने तयारी गरेको तामाङले बताए। उनले सामूहिक गिरफ्तारीबारे अहिले कुनै निर्णय नभएको र आन्दोलनको परिस्थिति हेरेर त्यही हुने बताए।यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो। उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन नसके पनि राप्रपाले आन्दोलनलाई निरन्तरता दिँदैछ। राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारी पक्ष सैह्य नहुने चेतावनी दिइसकेको छ ।