गणतन्त्रमाथि कुनै खतरा छैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
2.4K
SHARES

७ वैशाख  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका छन् । आइतबार (वैशाख ७) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले तत्काल गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेकामा जोड दिए ।दलहरू एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठिक नरहेको उनले उल्लेख गरे । गणतन्त्रका विषयमा दलहरूबीच कुनै विमति भने नरहेको उनको भनाइ थियो ।

“अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न पनि जरुरी छैन,” उनले भने, “त्यो जनआधारको दृष्टिकोणले, जनमतको दृष्टिकोणले पनि र अहिले दलहरूचाहिँ गणतन्त्रको रक्षाको निम्ति एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्यचाहिँ ठिक छैन ।”प्रचण्डले ठूलो दलको हैसियतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने आफूहरूको समर्थन रहने बताए । भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने उनले स्पष्ट पारे ।

वर्तमान सत्ता गठबन्धन संविधानको भावनाविपरीत भएको उनले दोहोर्‍याए । यो गठबन्धनलाई समर्थन गर्ने चर्चा गलत भएको उनले बताए ।संविधान र कानुनानुसार पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन कसैले नरोक्ने उनले सुनाए । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टीमा क्रियाशील हुन इच्छुक देखिएपछि जिम्मेवारीमा फर्किएको उनको भनाइ थियो ।