सांस्कृतिक पक्ष जोगाएर केबलकार बनाउन तयार छौँ – अध्यक्ष ढकाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०८२
2.4K
SHARES

१२ वैशाख विराटनगर । पाथीभरा केबलकार निर्माणका लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सांस्कृतिक पक्ष संरक्षण गर्दै पाथीभरा केबल कार निर्माण अघि बढाउन आफू तयार रहेको बताएका छन् ।कोसी प्रदेश‌ लगानी सम्मेलनको सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ कोसीले आज विराटनगरमा राखेको अन्तरसंवाद कार्यक्रममा ढकालले आफूहरु हरेक भाषा, धर्म र रीतिरिवाज संरक्षणमा भूमिका खेल्न तयार रहेको बताए ।

उनले भने, “संस्कृति प्रवर्द्धन र संरक्षण गरेर अगाडि बढ्न हामी तयार छौँ । कम्पनीको तर्फबाट समेत छलफल गरेर अघि बढ्ने कुरामा सकारात्मक छौँ ।” वार्ता र सहकार्यको माध्यमबाट समस्या समाधान गरी केबलकारको काम सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो ।पहिचानवादी पक्षले उठाएको संस्कृति, धर्म, परम्परा र इतिहासको विषयमा आफू समेत संवेदनशील रहेको ढकालले बताए ।

पहिचान पक्षबाट बिहीबार आएको विज्ञप्ति सकारात्मक भएको भन्दै ढकालले विकास, रोजगारीमा स्थानीयलाई अवसर र सांस्कृतिक धार्मिक संरक्षणको काम गर्न तयार रहेको बताए ।सोही कार्यक्रममा कोसीका कृषिमन्त्री खगेनसिंह हाङगामले ताप्लेजुङबासी विकास विरोधी नभएको बताउँदै विकासले स्थानीयको धार्मिक, सांस्कृतिक र पहिचानमा के कस्तो असर पुग्छ भन्ने अध्ययन हुनुपर्ने बताए ।

उनले भने,“पाथीभरा केवल कारको विषय पनि त्यस्तै हो । रगतले पोतेर गरिएको विकास हुन्छ कि हुदैन ?”पहिचानवादी पक्षले विरोध र संघर्ष गरेपछि पाथीभरा केवल कारको निर्माण कार्य तत्काललाई स्थगित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।