नेपालको लोकतन्त्र सुदृढीकरणमा पूर्ण सहयोग रहन्छ – चौथाईवाले


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०८२
1.9K
SHARES

१७ वैशाख काठमाडौं । भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भाजपाको पूर्ण सहयोग रहने वचन दिएका छन् । बुधबार गृहमन्त्री रमेश लेखकसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् ।

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे । मन्त्री लेखकले उक्त घटना दुःखद् भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको बताए ।

मन्त्री लेखकले नेपाल–भारतबीचको सदियौंदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा चौथाईवालेसित कुराकानी भएको जानकारी दिए ।

सो भेटका अवसरमा चौथाईवालेले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे । “नेपाल–भारतबीचको सम्बन्ध दृढ छ,” उनले भने, “कुनै पनि विषयले मित्रवत् सम्बन्धमा असर पर्दैन ।”कश्मीर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले मन्त्री लेखकमार्फत समवेदना समेत व्यक्त गरे ।