हामीले १ लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेल पर्‍यो – महासचिव गुरुङ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
2.3K
SHARES

१९ वैशाख पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीको सभाले राजावादीको आन्दोलन ओझेलमा परेको दाबी गरेका छन् ।पोखरामा शुक्रबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङले गत चैत १५ गते माओवादीले गणतन्त्रको पक्षमा एक लाख उतारेपछि राजावादीको आन्दोलन ओझेलमा परेको बताएका हुन् ।

‘हामी प्रतिपक्षमा भएता पनि केही न केही खबरदारी गर्नुपर्छ भनेर प्रतिगमन, यथास्थितिको विरुद्धमा चैत १५ गते वृहत रूपमा सभा गर्‍यौ,’ उनले भने, ‘झण्डै लाखको वरिपरि अत्यन्तै शानदार, भव्य सभा गरेपछि दरवारियाहरूले जुनरूपमा राजतन्त्रको पक्षमा, संविधानको विपक्षीमा क्याम्पेन चलाइराखेका थिए । त्यसलाई ओझेलमा पार्न सफल भयो ।’

महासचिव गुरुङले तत्कालको अवस्थामा राजावादीले अगाडि बढ्न सक्ने अवस्था नरहेको दाबी गरे । तर, सरकारको गतिविधिका कारण भविष्यमा गणतन्त्रको विरोधमा आवाज नउठ्ला भन्न नसकिने उनको भनाइ छ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा न्यायिक छानबिन आवश्यक रहेको महासचिव गुरुङले बताए ।

‘नीतिगत छानबिनले केही न केही संकेत गरेको छ । न्यायिक छानविनको माग गरेको देखिन्छ । न्यायिक प्रकारको छानबिन गरेर कति भ्रष्टाचारी भएका छन् । उनीहरु कारबाहीको दायरामा हुनुपर्छ,’ उनले भने ।

महासचिव गुरुङले अहिलेको सरकार असफल भइसकेको कारण राजीनामा दिनुको विकल्प नरहेको उल्लेख गरे । माओवादीले प्रतिपक्षको रूपमा रचनात्मक सुझाव दिइरहेको उनको दाबी छ ।