ललितपुरमा भयानक कार दुर्घटना


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २२ २०८२
4.3K
SHARES

२२ वैशाख काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार विशालको अवस्था गम्भीर रहेको छ । उनको आईसीयूमा उपचार भइरहेको छ ।

ललितपुर प्रहरीका अनुसार राति ११ बजेर १० मिनेट जाँदा ललितपुर महानगरपालिका -२८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो ।  कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।

११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।