सोभियतकालीन अन्तरिक्ष यान पृथ्वीको वायुमण्डलमा फर्कियो


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २८ २०८२
1.7K
SHARES

२८ वैशाख काठमाडौँ । युरोपेली अन्तरिक्ष संस्था (ईएसए)ले सोभियतकालीन अन्तरिक्ष यान कोसमोस ४८२ को एक टुक्रा आधा शताब्दीभन्दा बढी समयसम्म पृथ्वीको कक्षमा अड्केर अहिले वायुमण्डलमा पुनः प्रवेश गरेको दाबी गरेको छ ।सन् १९७२ मा शुक्रग्रहमा पठाइएको उक्त यान पृथ्वीको कक्षबाट निस्कन नसकेर चार टुक्रामा विभाजित हुँदै ५० वर्षभन्दा बढी समयदेखि पृथ्वी वरिपरि घुमिरहेको थियो ।

युरोपेली स्पेस सर्भिल्यान्स र ट्र्याकिङ केन्द्र (एसएसटी)ले शनिबार करिब ०६ः१६ जिएमटीमा यसको एक टुक्रा (ल्यान्डर) वायुमण्डलमा पुनः प्रवेश गरेको बताएको छ ।यो टुक्रा जमिनमा झरेको हो कि वायुमण्डलमा नै जलेको हो भन्ने स्पष्ट छैन । साथै, यो कहाँ गयो भन्ने पनि निश्चित छैन ।

विज्ञहरूले यसको वायुमण्डल प्रवेशबारे धेरै कुरा अनिश्चित भएको बताए पनि पृथ्वीमा झरेको खण्डमा पृथ्वीको ७० प्रतिशत भूभाग समुद्रले ढाकिएकाले यसले ठूलो क्षति पुर्‍याउने सम्भावना कम रहेको बताइएको छ ।

कोसमोस ४८२ को ल्यान्डर क्याप्सुल शुक्रको वायुमण्डलको तीव्र ताप र दबाब सहन सक्ने गरी बनेको थियो । यसैले यसमा मजबुत ताप जोगाउने र टिकाउने संरचना थियो जसले गर्दा पृथ्वीको वायुमण्डलमा अनियन्त्रित ढंगले झर्दा पनि यो बच्न सक्ने बताइएको छ ।तर, अन्तरिक्षमा ५० वर्षभन्दा बढी समय रहेपछि यसको प्यारासुट प्रणाली क्षय भएको हुन सक्ने बताइएको छ ।

ईएसएका एक वरिष्ठ विश्लेषक स्टिजन लेमेन्सले भने, “मानवनिर्मित वस्तुहरू पृथ्वीको वायुमण्डलमा प्रायः पुनः प्रवेश गर्छन् । ठूला यानहरू साप्ताहिक र साना दैनिक रूपमा यस्तो गर्छन् ।”

सामान्यतया यस्ता वस्तुहरू जमिनमा पुग्नुअगाडि नै घर्षणका कारण वायुमण्डलमा जल्ने गरेको बताइन्छ । सन् २०२२ मा चीनको लोङ मार्च ५बी बुस्टर भारतीय महासागरमा र २०१८ मा तियानगोङ–१ स्पेस स्टेसन प्रशान्त महासागरमा जलेर नष्ट भएको थियो ।

अहिले कोसमोस ४८२ लाई अन्तर्राष्ट्रिय अन्तरिक्ष संस्थाहरूले नजिकैबाट नियालिरहेका छन् ।लेमेन्सले भने, “भविष्यका यानहरू नियन्त्रित पुनःप्रवेश गर्न सक्ने गरी डिजाइन गर्नुपर्छ किनभने यसले यान खस्न सक्ने स्थानको अनुमान गर्न मद्दत गरी मानव बस्ती र वातावरणमा जोखिम घटाउँछ ।”