हेग कारागारमा रहेका फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते मेयरमा निर्वाचित
३० वैशाख काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मेयर पदमा निर्वाचित भएका छन् । चुनावको प्रारम्भिक नतिजाअनुसार दुतेर्ते परिवारको गढ मानिएको गृहनगरमा निर्वाचित भएका हुन् ।राष्ट्रपतिकालमा दुतेर्तेले हजारौँ नागरिकको मृत्यु हुने नसालु पदार्थविरुद्धको अभियान चलाएको आरोपमा अहिले पनि उनी नेदरल्यान्डस्थित हेगमा रहेको अन्तराष्ट्रिय अदालतको कैदमा छन् ।
उनका दुई अत्यन्त विश्वासपात्र सहयोगी क्रिस्टोफर बोङ गो र नशालु पदार्थ विरोधी अभियान कार्यान्वयन गर्ने पूर्वप्रहरी प्रमुख रोनाल्ड बाटो डेला रोजा देशको सिनेटमा पुनः निर्वाचित हुन सफल भएका छन् ।तर, दुतेर्तेले र पूर्वराष्ट्रपति मार्कोस पारिवारिक उत्तराधिकारीबीचको प्रतिस्पर्धाले चर्चित मध्यावधि निर्वाचनले केही अप्रत्याशित नतिजा पनि देखाएको बीबीसीले जनाएको छ ।
दुतेर्तेकी छोरी उपराष्ट्रपति सारा दुतेर्तेको भाग्य अहिलेसम्म अनिश्चित नै छ । किनभने मतगणनाको अन्तिम नतिजा अझै आएको छैन ।सन् २०२८ मा राष्ट्रपति पदका लागि उमेदवारी दिने अपेक्षा गरिएकी सारा दुतेर्तेले राजनीतिक प्रतिबन्धको सम्भावना सामना गर्दै रहेको बताइएको छ । यदि देशको सिनेटले गठन गरेको जुरीले उनमाथि अभियोग लगाएमा उनी राजनीतिबाट निलम्बित हुन सक्ने बताइएको छ ।
त्यसैले मध्यावधि निर्वाचन दुतेर्तेका समर्थक र पूर्वसहयोगी राष्ट्रपति फर्डिनान्ड बोङबोङ मार्कोस जुनियरबीचको युद्धजस्तै माहोल बनको थियो ।यस निर्वाचनमा स्थानीय अधिकारीदेखि गभर्नर र सिनेटरसम्म कुल १८,००० पदको लागि प्रतिस्पर्धा भएको थियो ।दुवै समूहका उमेदवारबीच प्रतिस्पर्धा भएको चुनावमा दुतेर्ते पक्षले अभियोगबाट बच्न आवश्यक नौ सिनेट मत जुटाउने प्रयास गरेको छ ।