देश ठूलो संकटतर्फ धकेलिरहेको छ – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
३१ वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा क्रमभंगता खोजेका छन् ।बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै उनले देश ठूलो संकटतर्फ धकेलिरहेको बताए । सुधारका निम्ति संरचना सहितको क्रमभंगता आवश्यक रहेको अन्यथा संकट रोक्न नसकिने चेतावनी दिए ।
‘दृढतापूर्वक एउटा नयाँ ढंगको प्रक्रियामा जानुपर्छ । नत्र भए समृद्ध नेपाल सुखी नेपाली होइन वृद्ध नेपाल दुखी नेपाली बन्ने वाला छ’ उनी भन्छन्, ‘वृद्ध नेपाल दुःखी नेपाली बनाउने कि समृद्ध नेपाल सुखी नेपाली बनाउने भन्नेमा घोत्लिएर एउटा क्रमभंगता गर्नु जरुरी छ ।’
यस्तो क्रमभंग गर्ने दिशातिर सिद्धान्त र प्राथमिकता नरहेको उनले बताए । यथास्थितिवादको निरन्तरतामा आएको उल्लेख गर्दै उनले बजेटमा क्रमभंगता खोजेका हुन् । अन्यथा संकट रोक्न नसकिने चेतावनी दिए ।
उनी थप्छन्, ‘ठूलो संरचनात्मक सहितको क्रमभंगता हो । त्यसो नगरी हामीले देशलाई निकास दिन सक्दैनौँ र संकटमा धकेलिनुबाट बचाउनु पनि सकिदैन । यो कुरामा गम्भीर ध्यान दिनु जरुरी छ ।’
उपाध्यक्ष श्रेष्ठले वर्तमान शासन प्रणाली दलाल र भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने खालको भएको बताए ।
वर्तमान व्यवस्थामा विधिको शासन नभएको बताए । भ्रष्टाचारमा नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही गर्न वर्तमान सरकारले नसकेका उनको भनाइ छ ।
अहिलेका निर्वाचन प्रणाली महँगो र भ्रष्टिकृत भएकाले निर्वाचन प्रणाली फेरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने बताए । निर्वाचन प्रणालीभन्दा बाहिरबाट मन्त्री नियुक्त गर्नुपर्ने र सांसदहरु कानुन निर्माणमा मात्रै सहभागी बन्ने गरी व्यवस्था गर्नुपर्ने उनको आग्रह छ ।