जीवन बीमा कम्पनीहरूले ११ प्रतिशत बढाए नाफा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०८२
1.9K
SHARES

२ जेठ काठमाडौं । बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूको नाफा करिब ११ प्रतिशत बढेको छ । सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सूचीकृत १२ जीवन बीमा कम्पनीहरूले साउनदेखि चैत मसान्तसम्म ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।गत वर्षको यसै अवधिमा यस्तो नाफा ४ अर्ब ९ करोड रुपैयाँ थियो । सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । जसले ९ महिनामा ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा धेरै बढाउनेमा भने एसियन लाइफ इन्स्योरेन्स छ । समीक्षा अवधिमा सो कम्पनीको नाफा ५९ प्रतिशतले बढेको छ ।

दुईबाहेक सबै जीवन बीमा कम्पनीको नाफा बढेको छ । राष्ट्रिय जीवन बीमाको ३७ र सन नेपाल लाइफ इन्स्योरेन्सको ३३ प्रतिशतले नाफा घटेको छ । कम्पनीहरुको नाफा बढे पनि प्रतिसेयर आम्दानी बढ्न सकेको छैन ।

१२ कम्पनीको औसत प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा छ । पहिले यस्तो आम्दानी १० रुपैयाँ ३४ पैसा थियो । जीवन बीमा कम्पनीहरुको मुख्य बिजनेस भनेकै संकलित प्रिमियम रकमलाई उपयुक्त क्षेत्रमा लगानी गरेर नाफा आर्जन गर्नु हो । मुद्दती निक्षेपमा समेत यस्तो रकम लगानी हुने गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली ब्याजदर धेरै घट्दा संकलित रकम परिचालनमा चुनौती रहेको बताउँछन् ।

‘लगानीका लागि उपयुक्त अवसर छैन, अर्कोतर्फ मुद्दती निक्षेपमा दिइने ब्याजदरमा हामीलाई विभेद गरिएको छ’ उनले भने ‘यो विभेद हटाउनुपर्छ, हामीले पनि बीमितलाई लाभांश दिनुपर्छ ।’

पछिल्लो समय घट्दो ब्याजदरका कारण मुद्दती निक्षेपतिर संस्थागत लगानीकर्ताको आकर्षण घटेको छ । न्यून ब्याजदर चुनौतीका बाबजुत जीवन बीमा कम्पनीले बढाएको नाफा उत्साहजनक छ । मुद्दती निक्षेपबाहेक कम्पनीहरुले ऋणपत्र लगायत अन्य धितोपत्रमा लगानी गर्दै आएका छन् ।

कतिपय कम्पनीको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । मुख्यतः कम्पनीहरुले चुक्ता पूँजी बढाउनका लागि हकप्रद तथा बोनस सेयर दिएपछि नाफाअनुसार प्रतिसेयर आम्दानी बढ्न नसकेको हो ।

जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनुपर्ने व्यवस्था छ । सोअनुसार अधिकांश कम्पनीले हकप्रद र बोनस सेयर दिएरै ५ अर्ब रुपैयाँ पुर्‍याएका छन् । केही कम्पनीको भने अझै पनि चुक्ता पूँजी पुगेको छैन । ती कम्पनीले बोनस सेयर प्रदान गरेर चुक्ता पूँजी बढाउने तयारीमा छन् ।

चुक्ता पूँजी सबैभन्दा न्युन रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै १७ रुपैयाँ छ । यद्यपि कम्पनीको नाफा ३७ प्रतिशत घटेको छ ।

जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी बढ्दा बजारमा आपूर्ति बढेको छ । यसले गर्दा यी कम्पनीहरुको मूल्य समेत प्रभावित बनेको छ । सेयर बजारमा जीवन बीमा कम्पनीको प्रदर्शन कमजोर देखिन थालेको छ ।