भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
1.3K
SHARES

६ जेठ सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्ने बताएका छन् ।मध्यपहाडी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ अन्तर्गत मंगलबार बिहान जाजरकोट खलंगामा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्प प्रभावितहरूको पुनः स्थापनाको विषयमा गम्भीर रूपमा आवाज उठाउने बताएका हुन् ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले करिब डेढ वर्षदेखि भूकम्प प्रभावितहरूको बिचल्ली रहेको र सरकारले प्रभावितहरूको पुनः स्थापनामा ध्यान नदिएको भन्दै त्यसतर्फ आवाज उठाउन प्रचण्डलाई आग्रह गरेका थिए ।

सरोकारवालाहरूका प्रश्न सुनेपछि जवाफ दिँदै अध्यक्ष प्रचण्डले जनताको सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताए ।

‘भूकम्प प्रभावितको सवालमा म गम्भीर छु । त्यो बेला म प्रधानमन्त्री हुँदा आफैं घटनास्थलमा खटिएर तत्काल राहत तथा उद्धारका काममा लागेको तपाईंहरूलाई अवगत नै छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले त्यति बेला तत्कालै बजेट पनि छुट्टाएको थिएँ , तर त्योअनुसार काम हुन नसक्नु दुःखद कुरा हो ।’

जाजरकोट खलंगामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरे । कार्यक्रममा बोल्दै सहभागी सरोकारवालाहरूले जाजरकोटमा भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढेको बताए ।

गाउँ–गाउँमा सडक पुगेको, तर भूकम्प प्रभावितहरूको पुनर्स्थापना नभएको तथा नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रदेश सरकार कमजोर भएको र जनतामा यसको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै सरोकारवालाहरूले संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन नहुँदा जनगुनासो बढेको र त्यसलाई सम्बोधन गर्दै संघीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गरे ।