शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु – शिक्षामन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०८२
2.1K
SHARES

७ जेठ काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरी विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका हुन् ।

विधेयकमा रहेका कतिपय विषयमा राजनीतिक तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुंगोमा पुर्‍याउने गरी छलफल अघि बढाउन सुझाव दिए ।

समिति सभापति अम्बरबहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरी चरणबद्ध रूपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।