रमेश लेखकको बचाउमा सिटौला
११ जेठ काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको जिकिर गरेका छन् ।आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।
नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताउँदै सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन गर्नुपर्ने तर्क गरे ।
राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक नभएको बताए । २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दशैँको आसपासमा तयारी गर्नुपर्ने उनको जोड छ ।