पुटिनप्रति ट्रम्पको आक्रोश


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२
1.2K
SHARES

१२ जेठ काठमाडौं । युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् ।  उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘सनकी’को आरोप लगाएका छन् ।

आफ्नो सोसल अकाउन्टमा ट्रुथमार्फत ट्रम्पले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । उनले लेखेका छन्, “रुसका भ्लादिमिर पुटिनसँग मेरो सधैँ राम्रो सम्बन्ध रहँदै आयो, तर अहिले उनलाई केही भएको छ ।”

पुटिनलाई ‘सनकी’को संज्ञा दिँदै ट्रम्पले थप लेखेका छन्, “उनी कुनै कारणविना नै धेरै मानिसलाई मारिरहेका छन् । मैले केवल सैनिकहरूको बारेमा मात्र कुरा गरिरहेको छैन । युक्रेनी सहरहरूमा विनाकारण मिसाइल र ड्रोनहरू प्रहार भइरहेका छन् ।”

पुटिनले सम्पूर्ण युक्रेन कब्जा गर्न चाहेको ट्रम्पको आरोप छ । उनले भनेका छन्, “मैले सधैँ भनेको छु कि उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन्, यदि उनले त्यसो गरे भने यसले रुसको पतन निम्त्याउनेछ, त्यो सत्यसाबित हुन सक्छ ।”

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति पनि आक्रोश व्यक्त गरेका छन् । उनले भनेका छन्, “राष्ट्रपति जेलेन्स्कीको बोल्ने शैलीले उनको देशका निम्ति राम्रो गरिरहेको छैन । उनको मुखबाट निस्कने बोलीले नै सबै समस्या निम्त्याइरहेको छ । मलाई यो मन परेको छैन, बन्द गर्नु नै राम्रो हुन्छ ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मौनताले रुसी राष्ट्रपति पुटिनलाई प्रोत्साहन गरिरहेको बताएका थिए ।

आफ्नो पोस्टमा ट्रम्पले पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि निशाना बनाएका छन् । उनले लेखेका छन्, “यो त्यस्तो युद्ध हो जुन म राष्ट्रपति भएको भए कहिल्यै सुरु हुने थिएन । यो जेलेन्स्की, पुटिन र बाइडेनको युद्ध हो, ट्रम्पको होइन । म त एउटा ठूलो संकटको सामना गर्न मद्दत गर्दै छु ।”