१७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
१२ जेठ काठमाडौं। सरकारले ट्रेजरी बिलको बिक्री मार्फत थप १७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज जेठ १२ गते सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । जसमध्ये १२ अर्बको ट्रेजरी नवीकरण गर्न लागिएको हो भने ५ अर्बको नयाँ हो।
ऋण व्यवस्थापन कार्यालयका अनुसार ३६४ दिने अवधिको १२ अर्बको नवीकरण गर्न लागिएको हो । त्यस्तै त्यति नै अवधिको ५ अर्बको नयाँ जारी गर्न लागेको हो । बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्काशन हुने कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ, जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । यसअघि गत जेठ २ गते भएकोे बोलकबोलमा २८ दिन अवधिको १० अर्बको ट्रेजरी बिलको खरिदका लागि २८ अर्ब ८६ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९४ प्रतिशत कायम भयो ।
त्यस्तै, १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल खरिदका लागि २७ अर्ब २९ करोड रुपैयाँ बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९७ प्रतिशत कायम भयो । यसैगरी, ३६४ दिन अवधिको ७ अर्ब ५० करोडको ट्रेजरी बिल खरिदको लागि २३ अर्ब ८५ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९९ प्रतिशत कायम भएको थियो ।
अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।
पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले अन्यत्र लगानी विस्तार नहुँदा अल्पकालीन लगानीका उपकरणहरु खरीदमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा व्याजदर पनि घटेको छ । ब्याजदर सस्तो भएको मौकामा सरकारले पनि सार्वजनिक उठाउने क्रमलाई तिब्रता दिएको छ ।