मेयर बालेनलाई उपमेयर डंगोलसहितका सदस्यको पत्र
१२ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न माग गरेका छन् ।सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् ।
‘कम्तिमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णय लगायत पनि अन्योलमा पर्दै आएका छन्,’ कार्यपालिका सदस्य नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।’
तर, महानगरका प्रमुखले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएको भन्दै मेयरलाई घचघच्याउने काम गरेको उनीहरूले बताएका छन् ।
जनता र जनप्रतिनिधिले खोज्दा पनि मेयर नभेटिएको गुनासो गर्दे उनीहरूले सामाजिक सञ्जालको स्टाटस हेरेपछि मात्रै मेयरबारे जानकारी हुने गरेको बताएका छन् ।


