राजावादीले कमान्डरबिनै प्रदर्शन गर्ने
१३ जेठ काठमाडौं । राजावादीहरूले राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै बिहीबार (जेठ १५) गते काठमाडौंमा प्रदर्शनको घोषणा गरिसकेका छन् । गत चैत १५ गते पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा तीनकुनेमा पनि राजावादीले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमान्डर दुर्गा प्रसाईंलाई बनाइएको थियो ।
तीनकुनेको प्रदर्शन अराजक बनेपछि ‘जनआन्दोलन’ एक दिनमै तुहिएको थियो । प्रदर्शनमा मानवीय र भौतिक क्षति समेत भएपछि प्रहरीले अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएको थियो ।
उक्त प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई समेत पक्राउ गरेर कानुनी दायरामा ल्याइएको छ । प्रदर्शनका क्रममा भड्किलो भाषण गरेको आरोपमा मिश्र र राणा पक्राउ परेका थिए ।