राष्ट्रपतिसँग न्युजिल्यान्डका उपप्रधानमन्त्रीको भेट


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०८२
1.2K
SHARES

१४ जेठ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन् ।सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आए भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको संकटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन बचाउनका लागि मिलेर काम गर्न आग्रह गरे । न्युजिल्यान्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको रूपमा पहिचान गरेको उनको भनाइ थियो ।

सो अवसरमा न्युजिल्यान्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा साना देशको भूमिका पनि महत्त्वपूर्ण हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।नेपाल न्युजिल्यान्डका जनताको लागि रमणीय देश भएकाले भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले नेपाली विद्यार्थीका निम्ति छात्रवृत्ति वृद्धि गरेर नेपालसँग शिक्षा र विकासको सम्बन्ध सुदृढ गर्न आफूहरूले चाहेको जानकारी दिए ।