अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०८२
1.3K
SHARES

१७ जेठ तेहरान । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ । प्रस्ताव पठाएको कुरालाई शनिबार ह्वाइट हाउसले पुष्टि पनि गरेको छ । तेहरानमा भएको भेटघाटको क्रममा ओमानका विदेश मन्त्री बद्र बिन हम्मद अल–बुसैदीले आफूलाई अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदाहरू बताएको इरानका विदेश मन्त्री अब्बास अराघचीले भनेका छन्  ।

संयुक्त राष्ट्रसङ्घ (यूएन)को आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा इरानले आणविक हतियार बनाउन प्रयोग गरिने युरेनियमको मात्रा बढी बढाउन थालेको बताएकै समयमा यो प्रस्ताव आएको हो । सम्झौता स्वीकार गर्नु इरानको हितमा हुने ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले बताइन् । उनले भनिन्– ‘राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भनेका छन् कि इरानलाई कहिल्यै आणविक बम बनाउन दिइने छैन ।’

यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टीव विटकफले तयार पारेको पनि लेभिटले बताइन् । प्रस्ताव विस्तृत र स्वीकार गर्न लायक भएकोमा उनले जोड दिएकी थिइन् । इरानले आफ्नो देशको सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर यो प्रस्तावको जवाफ दिने अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमा लेखेका थिए । हाल यस सम्झौताको बारेमा धेरै जानकारी सार्वजनिक गरिएको छैन ।