मालिकामा करार कर्मचारीको विवाद


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२
1.7K
SHARES

२३ जेठ गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा करारमा कार्यरत ५६ शिक्षक जना कर्मचारीको सेवा अवधि नथप्ने निर्णयप्रति सोही गाउँपालिकाको वडानम्बर–५ का वडाअध्यक्ष रेखाकुमार जिसीले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् ।उनले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले एकलौटी रुपमा करार कर्मचारीको सेवा अवधि नथप्ने निर्णय गरेको आरोप लगाए । उनले यसलाई एकतर्फी र हतारको निर्णय भन्दै सच्याउन माग गरे ।

‘गाउँपालिकाले न त कुनै मूल्याङ्कन प्रक्रिया अपनायो, न त कुनै स्पष्ट आधार प्रस्तुत गर्‍यो । केवल आन्तरिक छलफलको नाममा केही नेतृत्वस्तरमा निर्णय लिइयो, जुन लोकतान्त्रिक अभ्यासको मर्म विपरीत छ,’ उनले पत्रकार सम्मेलनमा भने ।

वडाअध्यक्ष जिसीले गाउँकार्यपालिकाले निर्णय लिने क्रममा वडाअध्यक्षहरूको समुचित सहभागिता सुनिश्चित नगरिएको दाबी गरे । ‘हामी कार्यपालिका सदस्य हौँ, तर यस्तो गम्भीर निर्णय गर्दा हामीलाई छलफलमा समेत सहभागी नगराइनु आपत्तिजनक विषय हो,’ उनले थपे ।

वडाअध्यक्ष जिसीले करार कर्मचारीको अवधि थप नहुनुका कारण सेवाग्राहीहरूलाई समेत असुविधा हुन सक्ने बताए । ‘करार कर्मचारीलाई एकैचोटि हटाउँदा नियमित सेवामा रिक्तता उत्पन्न हुन्छ, जसले सेवा प्रवाहमै प्रत्यक्ष असर पार्न सक्छ,’ उनले भने ।

आन्तरिक विवादबिच प्रमुख प्रशासकीय अधिकृतको सरुवा

करार कर्मचारीको विवाद चर्किएपछि प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी समेत सरुवा मागेर गाउँपालिका छाडेका छन् । उनी करिब दुई महिना अघि मात्र मालिका गाउँपालिकामा पदस्थापन भएका थिए ।

स्रोतका अनुसार कार्यपालिका भित्रको समन्वय अभाव, निर्णय प्रक्रियामा अस्पष्टता र राजनीतिक खिचातानीका उनी सरुवा भएर गएका हुन् । पन्थी आफैंले भने यसबारे केही बताएका छैनन् ।

कार्यपालिकामा के भएको थियो ?

पद सिर्जना नभई नियुक्त भएको भन्दै ५६ जना शिक्षक कर्मचारीको बैशाख पछि करार सम्झौता अवधि नथप्ने निर्णय पालिकाले गरेको थियो ।गाउँपालिकामा शिक्षकतर्फ २६, बालविकासतर्फ १४, स्वास्थ्यतर्फ ९ र कम्प्युटर अपरेटर तथा कार्यालय सहायकतर्फ ७ जनाको करार अवधि नथप्ने निर्णय २०८२ वैशाख २३ को कार्यपालिका बैठकले गरेको थियो ।

निर्णयको दिन कार्यपालिका बैठकमा उपाध्यक्षबाहेक १३ जना उपस्थित थिए । जसमा ४ वडाध्यक्षसहित ५ जना कार्यपालिका सदस्यले यस विषयमा फरक मत राखेका थिए । तर यो छलफलमै रहेको भनिएकोमा एक्कासी ५६ जनाको जागिर गएको विषय सार्वजनिक भएको थियो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले यस बिषयमा कार्यपालिकामा प्रस्ताव लगेको भएपनि अन्तिम निर्णयमा पुग्न जटिल रहेको बताएका थिए । तर गाउँपालिका अध्यक्ष देवीराम अर्यालले अघिल्लो सरकारले पद नै सिर्जना नगरी कर्मचारी नियुक्त गर्दा अहिले करार अवधि नथप्ने निर्णयमा पुगेको प्रतिक्रिया दिएका छन् ।