सम्भावनाहरू देशभित्रै खोजी गरौं – अर्थमन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०८२
1.1K
SHARES

३० जेठ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरू अघि बढाइएको बताएका छन् । बिहीबार काठमाडौंमा मिडिया इन्टरनेशनल र बैंकिङ खबरको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पौडेलले मान्छेले अन्तरिक्षमा सम्भावना खोजीरहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरू किन खोजी किन नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए ।उनले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताए । आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छौँ ? कसरी सम्भावना देशभित्रै खोजी गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको दाबी गरे ।

उनले भने, ‘आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ । जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । नेपालसँग नभएको केही चिज नै छैन । नेपालमा संसारको सबैभन्दा अग्लो सगरमाथा छ, हिमाल, पहाड, तराई छ । हामीसँग अन्नको भण्डार पनि धेरै नै छ । फलफूलका निम्ति अत्यन्तै सम्भावना बोकेको पहाड छ । जडिबुटीका निम्ति सम्भावना बोकेको हिमाली क्षेत्र छ । हामीसँग भएको वनस्पति, वन्यजन्तु संसारमा छैन होला । हरेक हिसावले सम्पन्न छौं ।’

उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताए । उनले नेपालसँग करिब ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्याँसको खानी रहेको जिकिर गरे ।प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गर्ने बताए ।

यस्तै मिडिया इन्टरनेसनलको यस कार्यक्रमले देशभित्र सम्भावना, उद्यमीशिलताको खोजी गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।यस्तै उनले जनशक्तिलाई देशभित्र अड्याएर देशलाई विकासको गतिमा अगाडि बढाउनुपर्ने बताए । यसमा सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

नेपालीहरुको निष्ठा, श्रमशिलता विश्वमै अनुकरणीय रहेको भन्दै मन्त्री पौडेलले श्रमशक्ति, लगनशिल जनशक्तिलाई प्रयोग र प्राकृतिक स्रोत, साधनको परिचालन गरी देशलाई विकास गर्ने मुख्य मुद्दा रहेको बताए ।उनले नेपालसँग आगामी ५० वर्षसम्म आन्तरिक आवश्यकतालाई पूरा गर्न सक्ने स्रोतसाधनहरू प्रशस्त भएकाले त्यसको उपयोग गरी देशभित्रै रोजगारी सिर्जना गर्न र युवालाई स्वदेशमै अवसर दिन सकिने उनले उल्लेख गरे ।

उनले भने, ‘जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो धनी देश भन्छौं । हिमनदीहरु छन् । तर पछिल्लो समय हिमाल पग्लिदै गरेको र हिमनदीहरु सुक्दै गएको छन् यो एउटा चिन्ताको विषय हो । तर पनि हामी जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो ठूलो हौं । हामीसँग ५० वर्षको आन्तिरक आवश्यक्ता पूरा गर्न सक्ने धेरै चिजहरु छन् ।’यस्तै युवालाई कसरी देशभित्र रोक्ने र परिचालन खोजी गर्ने गरी बजेट आएको उनले बताए । उनले भने, ‘उद्याशीलताको विषयमा केन्द्रित गर्ने बजेटले आएको छ । अब हामी स्टाटप, आइटी, उद्यमीशिलतको विषय आएको छ। यसले देशभित्र भविष्य खोज्ने छ ।’