प्रवेशपत्रको विषयमा विवाद बढेपछि दुई विद्यार्थी नेता पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ६ २०८२
1.3K
SHARES

६ असार काठमाडौं । जनकपुरधामको रामसागर रामस्वरुप बहुमुखी (राराब) क्याम्पसमा परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ भएको विषयमा विवाद बढेपछि प्रहरीले स्ववियु सभापतिसहित दुई विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ । राराबका स्ववियु सभापति मनिष यादव र चमनप्रसाद गोइतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बीबीएस तेस्रो वर्षका विद्यार्थीहरूलाई समयमै प्रवेशपत्र नदिइएको भन्दै विद्यार्थीहरूले क्याम्पस प्रमुख वसन्त कर्णसँग तीव्र असन्तोष व्यक्त गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी पुग्दा विद्यार्थी नेताहरूसँग झडप भएको थियो ।

धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, प्रहरीले विवाद साम्य पार्न खोज्दा विद्यार्थी नेताहरूले अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । विरोधमा विद्यार्थीहरूले क्याम्पस चोकमा सडक अवरुद्ध र जिल्ला प्रशासन कार्यालयअगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरेका छन् ।

यता क्याम्पस प्रमुख वसन्त कर्णले प्रवेशपत्र काठमाडौंबाटै आउन ढिलाइ भएकाले प्रवेशपत्र बाँड्न अबेर भएको बताए । पक्राउ परेका दुवै विद्यार्थी नेता अहिले प्रहरीकै नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । बीबीएस तेस्रो वर्षको परीक्षाअन्तर्गत पहिलो दिन आज ‘बिजनेस ल’को परीक्षा भएको छ ।