रुसी पूर्वराष्ट्रपतिमाथि ट्रम्पको कटाक्ष


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १० २०८२
1.2K
SHARES

१० असार काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लामो पोस्ट गर्दै रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभमाथि तीव्र कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमै मेदभेदेभको एक पोस्टका कारण ट्रम्पले कटाक्ष गरेका हुन् ।

उक्त पोस्टमा मेदभेदेभले ट्रम्पलाई ‘अमेरिकालाई अर्को युद्धमा धकेलेको’ आरोप लगाएका थिए । उनले अरू देशले इरानलाई आणविक हतियार आपूर्ति गर्न सक्ने बताएका थिए ।

रुसका पूर्वराष्ट्रपतिको यो भनाइ इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गर्नुभन्दा केही क्षणअघिको थियो । अमेरिकी सेनाले गएको हप्ताको अन्त्यतिर इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेको थियो । त्यसको बदलास्वरूप इरानले अमेरिकी सैन्य अड्डामा हमला गरेको हो ।

ट्रम्पले रुसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष समेत रहेका सन् २००८–२०१२ सम्म त्यहाँका राष्ट्रपति मेदभेदेभमाथि ‘एन’ (आणविक) शब्द लापरबाहीपूर्वक प्रयोग गरेको आरोप लगाए । ‘एन’ शब्दलाई यति हल्कासँग लिन नहुने उनले बताए । ट्रम्पले भने, “मलाई लाग्छ, त्यसैले त पुटिन उनका ‘मालिक’ हुन् ।”

ट्रम्पले सामाजिक सञ्जालमा आफ्ना अनुयायीलाई ठट्टाको शैलीमा सोध्दै भने, “उनले र अरू देशले इरानलाई आणविक हतियार आपूर्ति गर्ने भन्ने मेदभेदेभले साँच्चै भनेका हुन् कि होइन मलाई बताउनुहोला !”

मेदभेदेभले यसअघि भनेका थिए, “धेरै देश इरानलाई आफ्ना आणविक हतियार प्रत्यक्ष रूपमा आपूर्ति गर्न तयार छन् ।” उनले रुसले त्यसो गर्ने/नगर्ने भने स्पष्ट बताएका थिएनन् ।