कारोबार रकममा पनि गिरावट


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १० २०८२
1.3K
SHARES

१० असार काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक मंगलबार समान्य अंकले घटेको छ । कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक अन्तिम समयमा घटेको हो । मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार करिब ४ अंकले बढेको नेप्से मंगलबार अधिकांश समय सकारात्मक नै देखियो । तर, कारोबारको अन्तिम समयमा ०.२२ अंकले घटेको हो ।

सोमबार उत्कर्षमा पुगेको अमेरिका, इजरायल र इरान युद्धको असर नेपाली जनजीवनमा पनि पर्ने त्रासका कारण लगानीकताको मनोबल कमजोर भएको हो ।आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पर्खाइमा बसेका सेयर लगानीकर्ताले मंगलबार धितोपत्र बजार बढ्ने अनुमान गरेका थिए ।नेपाल राष्ट्र बैंकले पनि अर्थतन्त्र चलायमान बनाउने गरी कर्जा सम्बन्धी व्यवस्थामा संशोधन गरी केही खुकुलो बनाएसँगै लगानीकर्ता उत्सहित थिए । तर, लगानीकर्ताको उत्साह सोमबारको कारोबार समय अवधिभरि टिक्न सकेन ।

मंगलबार कारोबार सुरु हुँदा २६००.७६ अंकमा रहेको नेप्से ०.२२ अंकले घटेर २६००.५३ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।मंगलबार नेप्सेमा ३ सय १६ कम्पनीको ६२ हजार कारोबारबाट १ करोड ३८ लाख कित्ता सेयर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । धेरै कारोबार हुनेमा बुटवल पावर कम्पनी छ ।मंगलबार १ सय ७ कम्पनीको मूल्य बढ्यो । १ सय ४२ कम्पनीको घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९३, लगानी ०.२९, उत्पादनमूलक २९.५७, लघुवित्त ८.९७ र सामूहिक लगानी कोष समूह ०.०५ अंकले बढेका छन् ।त्यसैगरी मंगलबार विकास बैंक २२.२४, वित्त १७.४६, होटल ६६.९९, जलविद्युत् १५.६८, जीवन बीमा १५.३६, निर्जीवन बीमा ३७.८८, अन्य २.५२ र व्यापार समूह ४.०६ अंकले घटेका छन् ।