यी जिल्लामा आज बाढीको जोखिम
१५ असार काठमाडौं । देशका केही सानाठूला नदीमा आइतबार (असार १५) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौं, ललितपुर र भक्तपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालीकोट, दैलेख, अछाम, डडेलधुरा र बझाङ भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ ।
आइतबार बिहानको मापनानुसार कोसी, नारायणी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल छ । तर, कर्णाली, पश्चिम सेती, महाकाली जलाधारका जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।भोलि (असार १६) र पर्सि (असार १७) महाकाली, पश्चिम सेती र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।
