भारत भन्दा नेपाल अगाडि
१५ असार काठमाडौं । संयुक्त राष्ट्रसंघले कार्यान्वयनमा ल्याएको दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिमा नेपाल छिमेकी भारत भन्दा अघि रहेको छ । भारत भन्दा अघि रहे पनि नेपाल चीन भन्दा पछि छ । संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कको १० औं तथा पछिल्लो दिगो विकास प्रतिवेदन (एसडीआर) अनुसार, नेपाल ६८.६ अंकका साथ ८५औं स्थानमा छ । यस्तै ४० खर्ब डलरसहित विश्वको चौथो ठूला अर्थतन्त्र भारतले पहिलोपटक १६७ देशहरूमध्ये शीर्ष ९९औं स्थान सुरक्षित गरेको छ । नेपालको अर्थतन्त्रको आकार ४६ अर्ब डलर रहेको छ ।
सार्वजनिक भएको एसडीआरअनुसार भारत सन् २०२५ को एसडीजी सूचकमा ६७ अंकका साथ ९९औं स्थानमा छ । यस्तै विश्वको दोस्रो ठूलो अर्थतन्त्र छिमेकी चीन नेपाल र भारत भन्दा अघि रहेको छ । झन्डै २०० खर्ब डलर अर्थतन्त्र भएको चीन ७४.४ अंकका साथ ४९औं स्थानमा रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
यो स्कोरले ० देखि १०० को स्केलमा प्रगति मापन गर्छ । जहाँ १०० ले देशले सबै १७ लक्ष्यहरू हासिल गरेको जनाउँछ भने ० ले कुनै प्रगति नभएको देखाउँछ । एसडीजी लागूपछि सबैभन्दा छिटो प्रगति गर्ने पूर्वी र दक्षिण एसियाली देशहरूमा नेपाल पनि रहेको छ ।
सन् १९७१ देखि नै नेपाल राष्ट्रसंघको अतिकम विकसित मुलुकको सूचीमा रहँदै आएको छ । राष्ट्रसंघले अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि निर्धारण गरेका तीनवटा मापदण्डमध्ये दुईवटा लगातार चारवटा त्रिवर्षीय समीक्षामा योग्य भएपछि सन् २०२६ मा अतिकम विकसित देशबाट स्तरोन्नति हुने निर्णय भएको हो ।
आगामी तीन आर्थिक वर्षका पनि स्तरोन्नति सम्बन्धी सूचकका मानमा थप सुधार हुने अपेक्षा गरिएको छ । तीन वर्षमा औसत ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल हुँदा हाल विद्यमान न्यून जनसंख्या वृद्धिदरको परिवेशमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय थप वृद्धि हुनेछ ।
नेपालले गएको सन् २०१८ मा दुई सूचक पूरा गरेको थियो । २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण नेपालले स्तरोन्नति हुने योजनालाई केहीवर्ष पछाडि सार्न राष्ट्रसंघमा अनुरोध गरेको थियो । नेपालको अनुरोधअनुसार राष्ट्र संघले २०२१ डिसेम्बरमा निर्णय गरी २०२६ डिसेम्बरबाट स्तरोन्नति हुने व्यवस्था गरेको हो ।