सीडी रेसियो ७८% भन्दा तल आउन खोज्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १६ २०८२
1.1K
SHARES

१६ असार काठमाडौं । असार महिना लाग्दा कर्जा वृद्धिभन्दा पनि बैंकहरु कर्जा असुलीमा केन्द्रित हुँदा बैंकमा निक्षेपको तुलनामा कर्जा प्रवाह वृद्धि हुन नसकेको देखिन्छ। फलस्वरुप बैंकहरुको औसत सीडी रेसियो ७८ प्रतिशतभन्दा तल आउन खोजिरहेको छ।गत बिहीबारसम्मको नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सीडी रेसियो घट्दै ७८.०५ प्रतिशत कायम भएको छ। अघिल्लो दिन सीडी रेसियो ७८.१३ प्रतिशत थियो।

बैंकले सीडी रेसियो ९० प्रतिशतसम्म कायम गर्दै कर्जा प्रवाह गर्न मिल्ने भए पनि पुँजी कोष दबाब र देशमा आर्थिक शिथिलताका कारण कर्जा प्रवाह सोचेअनुरुप प्रवाह हुन नसक्दा बैंकमा लगानीयोग्य तरलता वृद्धिले निरन्तरता पाएको छ।

गत बिहीबार बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। बुधबारसम्म ७० खर्ब ३५ अर्ब रुपैयाँ रहेको निक्षेप बिहीबारसम्म ७० खर्ब ४३ अर्ब रुपैयाँ पुगेको हो। त्यस्तै बुधबारसम्म कर्जा प्रवाह ५५ खर्ब ७४ अर्ब रुपैयाँ रहेकोमा बिहीबार ५५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो।

एक दिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले वृद्धि भएको छ। बिहीबारसम्म वाणिज्य बैंकमा निक्षेप ६३ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४९ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।