कतिले बढ्यो करको दायरा ?
१९ असार काठमाडौँ । यो वर्ष सरकारले करको दायरा विस्तार उल्लेखनीय रूपमा बढाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिना (चैत मसान्तसम्म) मा मात्रै ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार योसँगै नेपालमा स्थायी लेखा नम्बर लिने कुल करदाताको सङ्ख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ ।
यो सङ्ख्या देशको कुल जनसंख्याको करिब २३ प्रतिशत हो । जसले आर्थिक गतिविधि क्रमशः औपचारिक प्रणालीमा आबद्ध हुँदै गएको सङ्केत गरेको छ ।
मन्त्रालयको तथ्याङ्कले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समेत करदाता थपिने क्रम बढेको देखाउँछ । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । यस वर्ष सोही अवधिमा २२ हजारभन्दा बढी करदाता थपिएको छ ।
व्यक्तिगत प्यान लिनेको वर्चस्व
चालु आर्थिक वर्षको चैतसम्ममा थपिएका नयाँ करदातामध्ये सबैभन्दा ठुलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरूको छ । यस अवधिमा ४ लाख ८० हजार ७० जनाले व्यक्तिगत प्यान लिएका छन् । यो कुल थपिएको सङ्ख्याको करिब ८४ प्रतिशत हो ।
रोजगारीमा रहेका व्यक्तिहरू, परामर्शदाता र व्यक्तिगत आय भएका नागरिकहरूले व्यक्तिगत प्यान लिने गर्छन् । यसले रोजगारी क्षेत्र र व्यक्तिगत आयको औपचारिक रुपमा महत्त्वपूर्ण योगदान पुगेको देखाउँछ ।
त्यसैगरी, व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या पनि उत्साहजनक छ । यस अवधिमा ९१ हजार ७७३ नयाँ व्यावसायिक प्रतिष्ठान करको दायरामा आएका छन् । यसले नयाँ व्यवसाय दर्ता र उद्यमशीलतामा भइरहेको वृद्धिलाई सङ्केत गर्दछ । कर कट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बर भने १ हजार ८३९ थपिएका छन् ।
हालसम्मको कुल करदाता सङ्ख्या ६७ लाख ९९ हजार ८९५ मध्ये व्यक्तिगत प्यानको हिस्सा सबैभन्दा ठुलो छ । कुल ४७ लाख २७ हजार ७५४ जनाले व्यक्तिगत प्यान लिएका छन् । जुन कुल सङ्ख्याको ६९.५ प्रतिशत हो ।
त्यसैगरी, व्यावसायिक प्यान लिनेको सङ्ख्या २० लाख ३५ हजार ८७४ (२९.९ प्रतिशत) पुगेको छ । कर कट्टी गर्ने निकायको सङ्ख्या भने ३५ हजार ९६७ (०.५ प्रतिशत) रहेको छ ।
स्थायी लेखा नम्बरका अतिरिक्त मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्यामा पनि विस्तार भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा १८ हजार ५६१ नयाँ करदाता भ्याटमा दर्ता भएका छन् । योसँगै भ्याटमा दर्ता हुने कुल करदाताको सङ्ख्या ३ लाख ४५ हजार १७८ पुगेको छ ।
त्यस्तै अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या पनि बढेको छ । यस अवधिमा ६ हजार ८९६ नयाँ करदाता थपिँदा अन्तःशुल्कमा दर्ता हुनेको कुल सङ्ख्या १ लाख २४ हजार २६४ पुगेको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाउँछ ।
करको दायरामा भएको यो निरन्तर विस्तारले सरकारको राजस्व सङ्कलनलाई दिगो बनाउन र अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ ।