भारतीय कम्पनीले तल्लो अरुण आयोजना बनाउन माग्यो लाइसेन्स
२२ असार काठमाडौ । लगानी बोर्डले प्रस्तावित ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना बनाउन भारत सरकार स्वामित्वको एसजेवीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीलाई इजाजतपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ ।लाइसेन्सका लागि एसजेवीएनले दरखास्त दिएकाले प्रक्रिया अघि बढाएको लगानी बोर्डका कार्यालयलले जनाएको छ । आगामी ३५ दिनपछि एसजेवीएनले तल्लो अरुण आयोजना बनाउन इजाजत पाउने बोर्डले जानकारी दिएको छ ।
तल्लो अरुण आयोजना बनाउन ७६ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ (४७ अर्ब ९६ करोड ७८ लाख भारु) लाग्ने विकासकर्ता एसजेवीएनले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले देखाएको छ ।बोर्डले आयोजना बनाउन ९२ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको थियो । आयोजनाबाट वार्षिक दुई अर्ब ९० करोड १० लाख २० हजार युनिट बिजुली उत्पादन हुने एसजेवीएनले गरेको अध्ययनले देखाएको छ ।
आयोजनाको प्रतिमेगावाट लागत ११ करोड ४७ लाख रुपैयाँ देखिएको छ ।प्रतिमेगावाट लागतका हिसाबले यो आयोजना सस्तो छ । आयोजना निर्माण सुरु भएको पाँच वर्षमा सम्पन्न हुने बोर्डले जनाएको छ । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाबाट बिजुली उत्पादन भएर बाहिर आउने पानीलाई सीधै तल्लो अरुणको सुरुङमा जाने भएकाले आयोजनाले बाँध बनाउनु पर्दैन ।
यही कारणले पनि लागत सस्तो पर्न गएको हो । ९०० मेगावाटको अरुण तेस्रो आयोजना एसजेवीएनले बनाइरहेको छ । अहिलेसम्म अरुण तेस्रोको ७५ प्रतिशत बढी काम सकिएको छ ।तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा २०८० जेठ १८ गते भारतको नयाँदिल्लीमा लगानी बोर्ड र एसजेवीएनबीच आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको हो ।
अरुण तेस्रोको टेलरेसबाट आउने पानी ६६.४ मिटर लम्बाई २९.५ मिटर चौडाई तथा २८ मिटर उचाईको हेडपन्डमार्फत ट्याप गरी टेन्डम अपरेसन मोडालिटीमा सञ्चालन हुनेछ ।परियोजनाको डिजाईन डिस्चार्ज ३४४ घन मिटर प्रति सेकेण्ड रहेको छ । परियोजनाको हेडपण्डबाट सिधै इन्टेक मार्फत १७ हजार ४०० मिटर लामो र १०.५ मिटर व्यासको हेडरेस टनेलमा पानी प्रवाह गर्नेछ ।
प्रवाह हुने पानीलाई ३३.८४ मिटर व्यास भएको सर्ज साफ्ट २ वटा ५.८५ मिटर व्यास भएको स्टिल प्रेसर साफ्ट, ४.१४ मिटर व्यास भएको पेनस्टक पाइप हुँदै अरुण नदीको बायाँ किनारमा रहने सतही विद्युतगृहमा खसालिनेछ ।
परियोजनाबाट उत्पादित विद्युतलाई अरुण–३ जलविद्युत परियोजनाको ४०० केभी प्रसारण लाइनमा २ किलोमिटर लम्बाईको लुप इन लुप आउट प्रसारण लाईनमार्फत ४०० केभी ढल्केवर सबस्टेशनमा जोडिनेछ ।
अरुण तेस्रो र तल्लो अरुणको बिजुली एउटै लाइनबाट भारतमा निर्यात हुनेछ । आयोजना संखुवासभाको चिचिला गाउँपालिका, सिलिचोंग गाउँपालिका र खाँदवारी नगरपालिका तथा भोजपुर जिल्लाका साल्पासिलिचो गाउँपालिकामा र षडानन्द नगरपालिका पर्छ । २०८० कात्तिक १४ मा वन तथा वातावरण मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियो ।