५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो – गभर्नर पौडेल


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २२ २०८२
1.4K
SHARES

२२ असार काठमाडौैं । गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले यतिबेला बैंकमा निक्षेप पनि उच्च रहेको, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकास हुनेगरी लगानी अवसर आएको उल्लेख गरे ।

राष्ट्र बैंकसँग बैंकहरूको ५ खर्ब २० अर्ब रुपैयाँ रकम थन्किएको उल्लेख गर्दै उनले अब वित्त नीतिले नेतृत्व गरी ऊर्जाजस्तै लगानीका अरु क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिए । मौद्रिक नीति र वित्त नीतिबीच समन्य गरेर अघि बढ्नुपर्ने बेला रहेकाे उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको नियमनमा माइक्रो इकोनोमिक दृष्टिकोणले सोच्नुपर्ने अवस्था रहेको उनले बताए ।

अझै पनि ग्रामीण क्षेत्रमा चाहेअनुसार ऋण जान नसकेकोले आगामी मौद्रिक नीतिबाट त्यसलाई सम्बोधन गरिने उनले बताए ।‘जुन क्षेत्रमा लोन जाओस भन्ने चाहेका हौं, त्यहा पुगेन भन्ने गुनासो छ, त्यसलाइ सम्बोधन गर्ने प्रयास आगामी मौद्रिक नीतिमा हुनेछ’ उनले भने । सबैलाई समेट्ने, सबै क्षेत्रलाई माथि लैजाने मौद्रिक नीतिको प्राथमिकता रहने उनले बताए । दिगो विकासलाई राष्ट्र बैंकले सधैं प्राथमिकता दिने पौडेलको भनाइ छ ।