खेलकुद मन्त्रालयले एनपीएल छानबिन प्रतिवेदन कार्यान्वयन गर्न प्रक्रिया अघि बढाउने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २७ २०८२
1.7K
SHARES

२७ असार काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल प्रिमियर लिग (एनपीएल)मा भएको गैरकानुनी कार्यको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न प्रक्रिया अघि बढाउने जनाएको छ । शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिवेदन कार्यान्वयन गर्न प्रक्रिया अघि बढाउने जनाएको हो ।

“नेपालमा खेलप्रेमीलाई उत्साह, खेलाडीलाई अवसर सिर्जना गरेको नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमा आयोजक संस्था नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक आर्थिक कारोबार लगायतका विषयमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी परेको विषय छानबिन गर्नका लागि त्यहाँबाट पत्राचार भएबमोजिम नियमानुसार गठित छानबिन कार्यदलमार्फत छानबिन भएको, सो कार्यदलले तयार गरेको छानबिन प्रतिवेदन मिति २०८२/०३/२५ गते बुझाइसकेको अवस्थामा उक्त विषयलाई अतिरन्जित गर्ने कार्य हुनु दुःखद हो,” युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्ने र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने छ ।”

खेलकुदमन्त्री चौधरीले विज्ञप्तिमा आफ्नो नाम जोडेर प्रकाशित र प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै एनपीएलको दोस्रो संस्करण रोक्न आफ्नो संलग्नता नरहेको बताएका छन् । नेपाल खेलकुद परिषद्की कार्यकारी समिति सदस्य रञ्जना प्रधानको संयोजकत्वमा गत जेठ ११ गते छानबिन कार्यदल गठन भएको थियो ।