साढे ११ अर्बको सेयर कारोबार


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २९ २०८२
1.6K
SHARES

२९ असार काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा चमक आएको छ । आइतबार बजार २९ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २,७६०.८८ अंकमा पुगेको छ ।गत शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड रुपैयाँ बनाउने भनेपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

आज कुल ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज १५८ कम्पनीको सेयरमूल्य बढ्दा ९० कम्पनीको घटेको छ ।एनआईसी एसिया बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनआईसी एसियाको प्रतिकित्ता ४०५ रुपैयाँमा ३७ करोड १४ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यस्तै, बुटवल पावर कम्पनी लिमिटेडको ८३०.८० रुपैयाँमा ३२ करोड ८५ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २२५८ रुपैयाँमा २८ करोड ५३ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

आज तीन कम्पनीका लगानीकर्ताले कमाएका छन् । एनआईसी एसिया बैंक, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

हिमालयन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । हिमालयन हाइड्रोपावरको नकारात्मक सर्किट लागेको छ । यस्तै, राप्ति हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएको नेप्सेले जनाएको छ ।