कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौं महानगरमा १६ हजारले इन्ट्रान्स दिँदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.6K
SHARES

१ साउन काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ जना विद्यार्थी छनोट भएका छन्। देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७ हजार २२९ आवेदनमध्येबाट यी विद्यार्थीहरू छनोट भएका हुन् । पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संग्लग्न नभएका १०९२ आवेदन अस्वीकृत भए।

शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११,५९०, व्यवस्थापन संकायका लागि ४,१६४, मानविकी संकायका लागि ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश   छन् । छनोट भएका विद्यार्थीहरूलाई इमेल र फोनमार्फत सूचना पठाइसकिएको छ।

छनोट भएका विद्यार्थीहरूले आजदेखि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट entrance.kathmandu.gov.np मा गएर “एडमिट कार्ड” विकल्पमार्फत आवश्यक विवरण भरेर प्रवेश पत्र डाउनलोड गर्न सकिने छ। प्रवेश पत्रमा परीक्षा केन्द्र, मिति र समयसम्बन्धी जानकारी समावेश हुनेछ।

छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८ देखि १० बजेसम्म आयोजना हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्नेछ, र गलत उत्तरका लागि कुनै नकारात्मक अंकन गरिने छैन।

परीक्षाको नतिजापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।