लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छ – अर्थमन्त्री पौडेल
९ साउन बुटवल । अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य बन्नुपर्ने बताएका छन् । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्रीले पौडेलले गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताए ।”गुरुयोजना बनाएरमात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ,” उनले भने, “हामीहरू साथ र सहयोग गर्न सधैँ तत्पर छौँ ।”
०५१ सालमा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको क्षण स्मरण गर्दै उनले अहिले विश्वविद्यालयको स्वरूपमा पुगेको बताए । “यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुन सक्छ,” उनले भने, “शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पुर्याउनुपर्छ ।”बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउदा विश्वविद्यालय अझै प्रभावकारीरूपमा अघि बढेको उनको भनाइ छ । उनले विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धकारूपमा ब्रान्डिङ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रियस्तरमा फैलाउन सुझाव दिए ।
मन्त्री पौडैलले ८० अर्बको गुरुयोजनाका मूर्तरूप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने बताए । पूर्वाधार विकाससँगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै उनले त्यसको कार्यान्वयनमा सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकोमा चिन्ता पनि व्यक्त गरे ।”बजेट भएरमात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन । यस्ता संस्थाहरूको नेतृत्व लौकिक मोहबाट माथि उठेको, संस्कृति, सम्पदाको महत्त्व बुझेको र ज्ञान भएको हुनुपर्दाे रहेछ,” उनले भने ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउन विश्वविद्यालयले प्रवर्धनात्मक कार्यक्रम बनाइरहेको बताए । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनले बताए ।विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पुर्याएको योगदानको चर्चा गरे । उनले देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गरे ।