ग्योकेरेस आर्सनलमा अनुबन्धित
११ साउन काठमाडौं । इंग्लिस क्लब आर्सनलले स्विडेनका फरवार्ड भिक्टोर ग्योकेरेसलाई भित्र्याएको छ । आइतबार आर्सनलले फरवार्ड ग्योकेरेसलाई पोर्चिुगिज क्लब स्पोर्टिङ लिस्बनबाट पाँच वर्षको सम्झौतासहित भित्र्याएका हो ।क्लबले ग्योकेरेसको सम्झौता रकमबारे भने खुलाएको छैन । तर, बेलायती सञ्चारमाध्यमले आर्सनलले ५५ मिलियन पाउन्डमा उनीसँग सम्झौता गरेको दाबी गरेका छन् ।
“भिक्टोर ग्योकेरेसलाई आर्सनल स्वागत गर्न हर्षित छ । ग्योकेरेसको प्रदर्शन नियमित हुनुका साथै उत्कृष्ट छ,” आर्सनलले जारी गरेको विज्ञप्तिमा प्रशिक्षक माइकल आर्टेटाले उल्लेख गरेका छन् । ग्योकेरेस आर्सनलले आगामी सन् २०२५–२०२६ को संस्करणको निम्ति अनुबन्ध गरेका पाचौँ खेलाडी हुन् । यसअघि, क्लबले गोलकिपर केपा अरिजाबालागा, विंगर नोनी म्याड्युके, मिडफिल्डर क्रिस्टियन नोरगार्ड र मार्टिन जुबिमेन्डीलाई अनुबन्ध गरेको थियो ।
ग्योकेरे यसअघि सन् २०२३ मा इंग्लिस क्लब कोभेन्ट्री सिटीबाट स्पोर्टिङमा आएका थिए । उनले स्पोर्टिङबाट १०२ खेल खेल्दा ९७ गोल र २८ असिस्ट गरेका छन् ।