साम्बालाई हेटौँडामा सम्मान
१८ साउन काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौँडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिबार (साउन १७) आयोजना गरेको ‘देश चिनाउने सम्बासँग हाम्रो चिनजान’ कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । सम्मानपछि भण्डारीले आफूले धेरै मिहिनेत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताइन् ।
मोजाको भकुन्डोबाट आफ्नो फुटबल करियर सुरु भएको उनले स्मरण गरिन् । अभावै अभावमा हुर्किएर यो स्थानमा आएको उनले बताइन् । मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको उनको भनाइ थियो ।कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गरिन् । नयाँ पुस्तालाई खेल्नका निम्ति सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उनले बताइन् ।
फुटबलका माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा आफ्नो टिम रहेको उनले सुनाइन् । सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै देशको नाम चिनाउनका निम्ति आफू सदैव अग्रसर रहने उनले प्रतिबद्धता जनाइन् ।कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्त्व रहेको धारणा राखिन् ।