रेफ्रीमाथि भएको दुर्व्यवहारप्रति फिफा अध्यक्षले जनाए आपत्ति
२० साउन काठमाडौं । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रेफ्री कातिया इट्जेल गार्सियामाथि भएको अनलाइन दुर्व्यवहारप्रति खेद व्यक्त गरेका छन् ।मेक्सिकन फुटबल महासंघले सोमबार लिग्स कपमा रेफ्री गार्सियामाथि दुर्व्यवहार भएको जनाएपछि अध्यक्ष इन्फान्टिनोको प्रतिक्रिया आएको हो ।
“म लिग्स कपको पहिलो चरणअन्तर्गत मोन्टेरे र सिन्सिनाट्टीबीचको खेलमा रेफ्री कातिया इट्जेलमाथि भएको दुर्व्यवहारप्रति निराश छु । फुटबलमा दुर्व्यवहार, भेदभाव र हिंसाका लागि स्थान छैन । यस्तो अस्वीकार्य कार्य गर्नेमाथि कारबाही गर्न फिफा सहमत छ,” इन्फान्टिनोले इन्स्टाग्राममा लेखेका छन् ।
गत बिहीबार भएको खेलमा गार्सियाले मेजर लिग सकर (एमएलएस)को क्लब सिन्सिनाट्टीलाई अफसाइडको विवादित गोललाई मान्यता दिएकी थिइन् । यही निर्णयलाई लिएर मेक्सिकन समर्थकले गलत निर्णय लिएको भन्दै गार्सियाको आलोचना गरेका थिए ।