एसईई नतिजा पुनर्योग: ८६० विद्यार्थीको नतिजा परिवर्तन
२९ साउन काठमाडौं । गएको असार १३ गते सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाप्रति चित्त नबुझेर पुनर्योग (रिटोटलिङ)मा गएकमध्ये ८ सय ६० विद्यार्थीको नतिजामा परिवर्तन भएको छ।नतिजा चित्त नबुझेका २७ हजार ३१५ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए। जसमध्ये ८ सय ६० विद्यार्थीको नतिजा परीवर्तन भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
नतिजा परिवर्तन भएपछि केही विद्यार्थीको प्राप्ताङ्क वृद्धि हुँदा चार जीपीएसम्म पुगेको छ।०८१ सालमा सञ्चालित एसईई परीक्षाको नतिजा गत असार १३ गते सार्वजनिक भएको थियो। परीक्षामा सहभागीमध्ये ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।
परीक्षामा सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन्। एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन्।
यसैबीच बोर्डले आजदेखि एसईईकाे ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको छ। ग्रेडवृद्धि परीक्षाको लागि एक लाख ४२ हजार ८५३ जनाले फर्म भरेका बोर्डले जनाएको छ।
ग्रेड वृद्धि परीक्षाका लागि बोर्डले मुलुकभर ४६९ परीक्षा केन्द्र तोकेको छ। परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजीको परीक्षा हुँदै छ। साधारण धारका विषयको परीक्षा भदौ ४ गते तथा प्राविधिक धारका भदौ ६ गते सकिने छ।ग्रेड वृद्धि परीक्षाको नतिजा दसैँअघि सार्वजनिक गर्ने गरी तयारी गरिरहेको बोर्डले जनाएको छ।