इंग्लिस प्रिमियर लिग : सिटी र टोटनहमको सानदार सुरुआत


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
3.1K
SHARES

१ भदौ काठमाडौं । गत सिजन खराब लयसहित तेस्रो स्थानमा चित्त बुझाएको म्यानचेस्टर सिटीले फराकिलो जितसहित इंग्लिस प्रिमियर लिग २०२५–२६ सिजनको सुरुआत गरेको छ ।शनिबार राति मोलिनेक्स रंगशालामा सम्पन्न खेलमा सिटीले घरेलु टोली वुल्भ्सविरुद्ध ४–० को जित दर्ता गर्‍यो । मोलिनेक्समा घरेलु टिमविरुद्ध सिटीलाई जित दिलाउन नर्वेजियन फरवार्ड एर्लिङ हाल्यान्डले दुई गोल गरे । तियानी रेन्डर्स र रायान चर्कीको नाममा समान एक गोल रह्यो ।

३४औँ मिनेटमा हाल्यान्डको गोलमा सिटीले खाता खोलेको थियो । जसलाई त्यसको तीन मिनेटपछि नै रेन्डर्सले दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि दुई गोल नै थप्यो । ६१औँ मिनेटमा हाल्यान्डले नै गोल गर्दै पाहुना टिमको अग्रतालाई ३–० मा राखे । निर्धारित समय सकिन नौ मिनेट बाँकी हुँदा चर्कीले गोल गरेपछि सिटीले नयाँ सिजनको पहिलो खेलमै ४–० को जित दर्ता गरेको हो ।

शनिबार नै भएको अर्को खेलमा टोटनहमले बर्न्लीविरुद्ध ३–० को जित निकाल्यो । घरेलु मैदानमा टोटनहम हटस्पर रंगशालामा सम्पन्न खेलमा ब्राजिलियन फरवार्ड रिचार्लिसनले दुई गोल गरे । अर्को एक गोल ब्रेनान जोन्सनको नाममा रह्यो ।