अब प्रविधिमा अघि बढ्नेले जित्छ – प्रधानमन्त्री
३ भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमा छिटो प्रगति गर्नेले नै प्रतिस्पर्धामा जित्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित भृकुटीमण्डपमा नाडा अटो शो, २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले व्यवसायीमैत्री नीति लिएको बताए ।सरकारको नीति मुलुकलाई अग्रगमनको यात्रामा अघि बढाउन सहयोग पुग्ने खालको रहेको ओलीको दाबी छ । उनले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिरहेको सरकारले पूर्व–पश्चिम रेलमार्गको तयारी अघि बढाएको बताए । उनले अब पहाडमा सिंगल लेन सडक निर्माण नगरी गुणस्तरीय र दिगो सडक संरचना बनाउन सरकार लागिपरेको बताए ।
उद्घाटन समारोहमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले नाडाले हालसम्म १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको बताए । उनले करिब तीन लाख व्यापारी यस क्षेत्रमा संलग्न रहेको र नेपालमा ९० प्रतिशतभन्दा बढी अटोमोबाइल व्यवसाय नाडाले प्रतिनिधित्व गर्दै आएको जिकिर गरे ।
चौधरीले युवा पलायन रोक्न नाडा प्राविधिक तालिममार्फत सिपयुक्त जनशक्ति उत्पादन गर्ने तयारीमा रहेको पनि बताए । उनका अनुसार, नेपालमा बिक्री हुने करिब ४० प्रतिशत गाडी नाडामार्फत बिक्री वा बुकिङ हुने गरेका छन् । आउँदो मौद्रिक नीतिले अटोमोबाइल व्यवसायलाई मैत्रीपूर्ण वातावरण दिनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही वर्ष अर्थतन्त्रका लागि चुनौतीपूर्ण भए पनि निजी क्षेत्रको सुझावअनुसार ३० भन्दा बढी कानुन परिमार्जन भएपछि सकारात्मक परिणाम देखिन थालेको बताए ।
उनले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता उपलब्ध रहेको उल्लेख गर्दै लगानीका लागि उपयुक्त समय रहेको धारणा राखे । हालै सुरु भएको जलविद्युत् निर्यातले विदेशी मुद्रा भित्र्याउन ठूलो सहयोग गरेको र अर्थतन्त्रलाई सुदृढ बनाउन टेवा दिएको उनको भनाइ छ । ढकालले युरो–६ मापदण्ड अचानक लागु हुँदा अटोमोबाइल क्षेत्रमा समस्या आएको पनि बताए । उनले केही समयका लागि सरकारले छुट दिनुपर्नेमा जोड दिए ।