एससीटी–युनियनपे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ६ २०८२
2.4K
SHARES

६ भदौ काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससीटी–युनियनपे कार्डबाट अब मोबाइल वालेटहरूमा वालेट लोड गर्न मिल्ने भएको छ । एससीटी नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था हो । कार्डबाट वालेट लोड गर्न मिल्ने सुविधा रहेको सबै मोबाइल वालेटहरू इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एसीटी–युनियनपे कार्डबाट सिधै वालेट लोड गर्न मिल्नेछ ।

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवेमा आवद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेसनहरूबाट ग्राहकहरूले यो सुविधा लिन सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई आफ्नो एससीटी–युनियनपे कार्डबाट पीओएसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, ई–कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुने बताइएको छ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एसीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ । एसीटी–युनियनपे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै एसटीसीका सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्नेछन् ।