९५.७५ प्रतिशतले साउनमा निर्यात बढ्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ८ २०८२
1.2K
SHARES

८ भदौ काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा नेपालको निर्यात ९५.७५ प्रतिशतले बढेको छ।  गत वर्षको तुलनामा नेपालले सो दरले वस्तु निर्यात बढाएको हो। गत वर्ष नेपालले साउन महिनामा कुल १२ अर्ब २२ करोड ६१ लाख ४७ हजारको निर्यात गरेकोमा यस वर्ष २३ अर्ब ९३ करोड २४ लाख ४१ हजारको निकासी गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

त्यसैगरी यस अवधिमा आयात ११.४२ प्रतिशतले बढेको देखिएको छ। गत वर्ष १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजारको आयात गरेको नेपालले यो वर्ष १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजारको आयात गरेको छ।

यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार समेत १८.७५ प्रतिशतले बढेको छ। गत वर्षको १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६८ हजारको तुलनामा साउनमा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख ९ हजार रुपैयाँको बाह्य व्यापार भएको छ। यसमा व्यापारघाटा २.५५ प्रतिशतले बढेको छ। गत वर्ष साउनमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजारको व्यापारघाटा यसपालि १ खर्ब १९ अर्ब १० करोड ८२ लाख २८ हजार पुगेको छ।