प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखबिना मुलुकमा स्थायित्व सम्भव छैन – सांसद सापकोटा
९ भदौ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको बताउँदै त्यसलाई नियन्त्रण नगरेसम्म असमानता र अविश्वास बढ्दै जाने चेतावनी दिए । वडा अध्यक्षका उमेदवारले मात्रै डेढ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले खर्चिलो निर्वाचन प्रणाली कायमै रहे व्यवसायी र उद्योगी मात्र उमेदवार हुने अवस्था आउनसक्ने बताए ।
निर्वाचन प्रणालीलाई सबै जातजाति, भाषा, वर्ग, क्षेत्र तथा पूर्ण समानुपातिक बनाउनुपर्नेमा जोड दिए । वित्तीय क्षेत्रमा समेत असमानता देखिन थालेको भन्दै उनले संविधान संशोधनमार्फत स्थायित्व कायम गर्न आवश्यक रहेको बताए ।
“प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने हाम्रो स्पष्ट कुरा छ । यसमा सबै जातजाति, भाषाभाषीलाई समेत समावेश गरेर पूर्ण समानुपाति बनाउनुपर्यो । वर्गीय, क्षेत्रीय, लैंगिकका कुरा साथै वित्तीय क्षेत्रका कुरा पनि आउन थालेको छ । अहिलेको निर्वाचन प्रणाली यति धेरै खर्चिलो छ । वडा अध्यक्षले नै डेढ करोड खर्च गर्नुपर्ने छ । यसलाई नियन्त्रण गर्न सकिएन भने भोलिको दिनमा व्यवसायी र उद्योगीले मात्रै उमेदवारी दिनुपर्ने अवस्था छ,” उनले भने । पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाएर राजनीतिक दलले एकल बहुमतको सरकार चलाउन सक्ने अवस्था सिर्जना गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।